Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

वन क्षेत्रबाट १ अर्ब ८९ करोड राजस्व संकलन


काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको वन क्षेत्रको विस्तार सन्तोषजनक देखिएको छ। सर्वेक्षणले नेपालको कुल भू-भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको देखाएको छ।

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म वन क्षेत्रबाट १ अर्ब ८९ करोड राजस्व संकलन भएको उल्लेख गरेको छ । सरकारको आर्थिक सर्वेक्षणअनुसार, वन क्षेत्रका विभिन्न क्रियाकलापबाट आर्थिक वर्ष २०८१/८२ मा ४१ लाख श्रमदिन रोजगारी सिर्जना भएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म १९ लाख १५ हजार ३१८ कार्यदिन रोजगारी सिर्जना भएको छ ।

नेपालको कुल भू-भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ, जसमध्ये कुल भू-भागको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ ।

नेपालको कुल भू-भागको २३.४ प्रतिशत (३४,४२० वर्ग कि.मी.) क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ ।

देशभर ११ वन संरक्षण क्षेत्रअन्तर्गत १ लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २०८२ फागुन मसान्तसम्ममा २३,१६२ सामुदायिक वन उपभोक्ता समूह र ३३ साझेदारी वन उपभोक्ता समूहले वन क्षेत्रको व्यवस्थापन गरिरहेका छन् ।

काठ र दाउराको उत्पादन

अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा निजि र राष्ट्रिय वन गरी कुल ३ करोड ९९ लाख ८५ हजार क्यूविक फिट गोलिया काठ उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ६११ चट्टा दाउरा उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २३ हजार २७९ चट्टा दाउरा उत्पादन भएको छ ।

कार्बन व्यापार कति ?

नेपालले कार्बन व्यापारबाट राजस्व प्राप्त गर्न सुरु गरेको छ। २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर कार्बन व्यापारबाट राजस्व प्राप्त भएको छ । साथै, रेड कार्यक्रममार्फत कार्बन उत्सर्जन कटौती गरी वन विकास कोषमा ९४ लाख अमेरिकी डलर प्राप्त भएको छ ।

आर्थिक सर्वेक्षणले वन क्षेत्रको दिगो व्यवस्थापन र यसबाट प्राप्त हुने लाभमा नेपालले प्रगति गरिरहेको देखाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट