Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो


काठमाडौं । मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । २०८१ साल फागुनसम्म ९ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६.१ प्रतिशत रहेको छ ।

२०८२ साल असारसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको स्वीकृत लगानी ३३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ रहेकामा चालु आवको फागुनसम्म ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ थप लगानी स्वीकृत भएको छ । सो अवधिसम्म ३७ खर्ब २७ अर्ब ५४ करोड रुपैयाँ उद्योगका लागि लगानी स्वीकृत भएको छ ।

चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । गत आवको सोही अवधिमा ४३८ उद्योगको १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान थियो ।

गत फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा बढी हिस्सा उत्पादनमुलक उद्योगको रहेको छ । ३३ दशमलव ३ प्रतिशत उत्पादनमुलक उद्योग दर्ता हुँदा सबैभन्दा कम ० दशमलव ७ प्रतिशत पूर्वाधार क्षेत्रका उद्योग रहेका छन् ।

दर्ता भएको उद्योगमध्ये सेवामूलक उद्योग २३.९ प्रतिशत, पर्यटन उद्योग २३.५ र अन्य उद्योगको हिस्सा १९.३ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत फागुनसम्म तीन हजार ७१५ उत्पादनमुलक, दुई हजार ६५८ सेवामूलक, दुई हजार ६१३ पर्यटन, ६२७ ऊर्जामुलक, ५८१ कृषि तथा वन पैदावरमा आधारित, ७७० सूचना प्रविधिमा अधारित, ९९ खरिज र ७७ उद्योग पूर्वाधार क्षेत्रका उद्योग दर्ता भएका छन् ।

चालु आवको फागुन मसान्तसम्म ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५५.१ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो स्वीकृति १९।५ प्रतिशत छ भने सबैभन्दा कम खनिज उद्योगमा ०.३ प्रतिशत मात्रै रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट