बजार भित्रियो लिची, कति छ मूल्य ?
काठमाडौं । बजारमा लिची भित्रिन थालेसँगै यसको मूल्य पनि बढ्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो तथ्यांकअनुसार केही दिनयता लिचीको थोक मूल्यमा वृद्धि देखिएको हो ।
एक साताअघि बजारमा भारतीय र नेपाली दुवै प्रकारका लिची उपलब्ध थिए । तर हाल बजारमा मुख्य रूपमा नेपाली लोकल लिची मात्रै कारोबार भइरहेको जनाइएको छ ।
समितिको तथ्यांकअनुसार ८ जेठमा भारतीय लिची प्रतिकिलो औसत २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य लगातार चार दिनसम्म स्थिर रहेको थियो । तर बिहीबार उक्त लिचीको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर औसत २ सय ७५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी नेपाली लोकल लिची १२ जेठदेखि बजारमा भित्रिएको हो । पहिलो दिन प्रतिकिलो औसत १ सय ७५ रुपैयाँमा कारोबार भएको लोकल लिचीको मूल्य बुधबार र बिहीबार भने उल्लेख्य रूपमा बढेको छ । पछिल्ला दुई दिनमा यसको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर औसत २ सय २५ रुपैयाँ पुगेको समितिले जनाएको छ ।
फलफूल व्यवसायीहरूका अनुसार हाल तराई क्षेत्रबाट लिची बजारमा आउन थालेको छ भने पहाडी जिल्लाबाट उत्पादन आउन अझै १० देखि १५ दिन लाग्ने अनुमान गरिएको छ । भारतीय लिचीको आयात भने निकै कम रहेको उनीहरूको भनाइ छ ।
थोक बजारमा मूल्य बढेसँगै खुद्रा बजारमा उपभोक्ताले लिची प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म तिर्नुपरेको बताएका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया