Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

बजेट प्रस्तुतीको सम्पूर्ण तयारी पूरा, बहुउद्देश्यीय हलमै बस्ने संयुक्त संसद् बैठक


काठमाडौं । सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुतिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा संयुक्त बैठक आयोजना गरिने भएको संसद् सचिवालयले जनाएको छ। हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको सोही हलमा बजेट प्रस्तुत गरिने तयारी गरिएको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई निर्धारित समयअघि नै बैठकस्थलमा उपस्थित भई आफ्नो स्थान ग्रहण गर्न सचिवालयले अनुरोध गरेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनभित्रको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने प्रारम्भिक तयारी भए पनि निर्माण तथा ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत गर्न लागिएको हो।
स्थानको सीमितताका कारण यस वर्षको बजेट प्रस्तुतिमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको सचिवालयले जनाएको छ।
नयाँ सरकार गठनपछि अर्थमन्त्री डा। वाग्लेले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट भएकाले राजनीतिक तथा आर्थिक क्षेत्रले विशेष चासोका साथ हेरिरहेका छन्। सरकारले आर्थिक अनुशासन, खर्च कटौती, पूर्वाधार विकास तथा डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट