Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो, कसको कति ?


काठमाडौं । सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक करमा उल्लेख्य वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालयमार्फत दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्ने करदर संशोधन गर्दै सार्वजनिक तथा व्यावसायिक सवारीमा नयाँ दर लागू गरिएको हो।

नयाँ व्यवस्था अनुसार साना देखि ठूला सवारीसाधन, मालबाहक तथा विद्युतीय सवारीसम्मका करमा करिब १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।

नयाँ दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी, १३०१ देखि २००० सीसीसम्मका लागि ७ हजार, २००१ देखि २९०० सीसीसम्मका लागि ७ हजार ५ सय, २९०१ देखि ४००० सीसीसम्मका लागि ९ हजार ५ सय र ४००० सीसीभन्दा माथिका यस्ता सवारी साधनका लागि ११ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ। यसअघि यी सवारीको कर क्रमशः ६ हजार, ६ हजार ५ सय, ८ हजार र ९ हजार रुपैयाँ मात्र रहेको थियो।

मध्यम र ठूला मालबाहक तथा सार्वजनिक सवारीको करमा पनि ठूलो वृद्धि गरिएको छ । मिनी ट्रक, मिनी बस र पानी ट्याङ्करको कर ८ हजारबाट बढाएर ९ हजार ५ सय पुर्‍याइएको छ भने मिनी टिप्परको कर ९ हजारबाट बढाएर ११ हजार कायम गरिएको छ ।

ठूला ट्रक र बसले अब १० हजार ५ सयको सट्टा १२ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता हेभी मेसिनरी उपकरण र तेल ट्याङ्कर, ग्यास बुलेट तथा टिप्परको कर साविकको १५ हजार ५ सयबाट बढेर १७ हजार ५ सय रुपैयाँ पुगेको छ।

साना र कृषि क्षेत्रमा प्रयोग हुने सवारी साधनको करमा पनि १ हजार रुपैयाँको वृद्धि भएको छ । ट्रयाक्टर, अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको कर २ हजार ५ सयबाट बढेर ३ हजार ५ सय पुगेको छ भने पावर टिलरको कर २ हजारबाट बढेर ३ हजार रुपैयाँ पुगेको छ ।

विद्युतीय सवारी साधनतर्फ ५० किलोवाटसम्मको ४ हजार, ५० देखि १२५ किलोवाटसम्मको ५ हजार, १२५ देखि २०० किलोवाटसम्मको ७ हजार ५ सय र २०० किलोवाटभन्दा माथिको ९ हजार ५ सय रुपैयाँ कर निर्धारण गरिएको छ ।

विद्युतीय ई रिक्साका लागि ३ हजार ५ सय र भाडाका दुई पाङ्ग्रे सवारी साधनका लागि ३ हजार रुपैयाँ नयाँ कर तोकिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट