सीमा नाकाबाट ल्याउन–लैजान सकिने वस्तुको छुट सीमा ५ सय रुपैयाँ पुर्याइयो
काठमाडौं । सरकारले स्थल सीमा नाकाबाट यात्रुहरूले साथमा ल्याउन वा लैजान सक्ने वस्तुको मूल्य सीमा बढाएको छ। अर्थ मन्त्रालयले जारी गरेको नयाँ व्यवस्थाअनुसार अब १ सय रुपैयाँको सट्टा ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु भन्सार महसुल नलिई ल्याउन वा लैजान सकिने भएको छ।
नयाँ सूचनामा भनिएको छ कि ५ सय रुपैयाँसम्म मूल्यका व्यक्तिगत प्रयोगका सामान साथमा ल्याइए वा लगिएमा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्। तर यो सुविधा स्वतः लागू हुने नभई सम्बन्धित भन्सार अधिकृतको निर्णयमा निर्भर रहनेछ।
यसअघि २०८२ जेठ १५ मा जारी गरिएको व्यवस्थाअनुसार सीमा नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु भित्र्याउन नपाइने कडाइ गरिएको थियो। उक्त नियम लागू भएपछि केही समय सीमावर्ती क्षेत्रमा तनावसमेत देखिएको थियो र विषय संसदमा समेत उठेको थियो।
तर स्थलमार्गबाट यात्रा गर्नेहरूलाई हवाई यात्रु सरह सुविधा नदिइएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि भने पहिलेझैँ ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ।
सरकारले सीमा नाकामा पटक–पटक कडाइ गर्ने प्रयास गर्दै आए पनि व्यवहारिक कार्यान्वयनमा चुनौती देखिँदै आएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया