रोशी खोलाको बहाव बढेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौं । लगातारको वर्षापछि रोशी खोलामा पानीको सतह अत्यधिक बढेपछि जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध र रोशीको माथिल्लो क्षेत्रमा भारी वर्षा भइरहेको छ। वर्षाका कारण रोशी खोलाको बहाव बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै काभ्रे खण्डमा पर्ने बीपी राजमार्गमा सबै प्रकारका सवारी सञ्चालन तत्कालका लागि बन्द गरिएको हो।
यसैबीच रोशी क्षेत्रको चारसयबेशीनजिक पहिरो समेत गएको जनाइएको छ। पहिरो पन्छाउने र पानीको सतह सामान्य नहुँदासम्म सडक खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
हाल राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनलाई धुलिखेलमा, साथै सिन्धुलीतर्फ जाने सवारीलाई खुर्कोट र नेपालथोकमा होल्ड गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया