Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

डीडीसी प्रवर्द्धनमा सरकार सक्रिय, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई उत्पादन वितरण


काठमाडौं । सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै मन्त्रिपरिषद् बैठकमै दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको प्रचारात्मक अभियान अघि बढाएको छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई डीडीसीद्वारा उत्पादित विभिन्न दुग्धजन्य सामग्री समेटिएको उपहार प्याकेज वितरण गरेकी छन्। प्याकेटमा दूध, केशर दूध, बटर, चिज, दही, मोही, पेँडा तथा अन्य दुग्धजन्य उत्पादन समावेश गरिएको थियो।

बैठकका क्रममा स्वदेशी वस्तुको उपभोग वृद्धि, दुग्ध किसानको हित संरक्षण तथा डीडीसीको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको बताइएको छ। मन्त्री चौधरीले नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन, बजार सुनिश्चितता तथा डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको धारणा राखिन्।

उनले स्वदेशी दुग्ध उत्पादनको प्रयोग र प्रवर्द्धनलाई सरकारी तहबाटै प्राथमिकता दिनुपर्नेमा जोड दिँदै किसानको उत्पादनलाई बजारसँग जोड्न ठोस पहल आवश्यक रहेको उल्लेख गरिन्।

डीडीसीका उत्पादनहरूको प्रवर्द्धन अभियानमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि समर्थन जनाएका छन्। उनले स्वदेशी वस्तुको उपभोग बढाउन सबै तहबाट पहल हुनुपर्ने सन्देश दिएका छन्।

सरकारको यस कदमले नेपाली दुग्ध किसानलाई थप उत्साह मिल्नुका साथै सरकारी स्वामित्वको संस्थान डीडीसीको बजार विस्तार र व्यवसायिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसअघि पनि प्रधानमन्त्री शाहले जेठ २ गते सामाजिक सञ्जालमार्फत “से चीज, डीडीसीको चीज” भन्दै डीडीसीको याक चिजको प्रचार–प्रसार गरेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट