कार दुर्घटनामा भारतीय पर्यटक घाइते
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।
डुम्रेबाट दमौली हिडेको बिआर १० एबी ७७३९ नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब १ः०० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पाँच जना सवार रहेको उक्त कार अचानक सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिए।
घाइते हुनेहरूमा भारतको विहार मधुबनी –१० बस्ने ३७ वर्षीया आशा देवी र सोही स्थान बस्ने ४० वर्षीया मनिका देवी र कार चालक भारत विहार भागलपुर बस्ने २८ वर्षीय सोनु घाइते भएका छन् ।
तीनै जना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । कारमा सवार अन्य दुई जना भारतीय नागरिक पूर्ण रूपमा सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया