दरबार हत्याकाण्डको समयमा गृहमन्त्री थिए राष्ट्रपति पौडेल
काठमाडौँ। नेपाली इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा लिइने ‘नारायणहिटी दरबार हत्याकाण्ड’ का बेला मुलुकको गृह प्रशासनको बागडोर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सम्हालेका थिए।
वि.सं. २०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंश नै नाश हुने गरी भएको उक्त बीभत्स काण्डका समयमा पौडेल उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा थिए।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारमा पौडेल शक्तिशाली गृहमन्त्री थिए। देशको सुरक्षाको प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हुने भए पनि नेपाली सेनाको पूर्ण नियन्त्रणमा रहने राजदरबारभित्र भएको सो अकल्पनीय घटनाले तत्कालीन गृह प्रशासनलाई ठुलो धक्का दिएको थियो।
घटना लगत्तै देशमा आक्रोश र अन्योल चुलिएपछि पौडेलले उच्च राजनीतिक र नैतिक संस्कार प्रदर्शन गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। सोही ऐतिहासिक पृष्ठभूमि बोकेका पौडेल वर्तमान समयमा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा छन्।
शुक्रबारे पारिवारिक जमघटका क्रममा भएको उक्त सामूहिक गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र (पछि अस्पतालमा निधन), राजकुमार निराजन र राजकुमारी श्रुतिसहित राजपरिवारका १० जनाको बीभत्स हत्या भएको थियो।
हत्या हुने अन्य सदस्यहरूमा राजा वीरेन्द्रका भाइ राजकुमार धीरेन्द्र, बहिनीहरू राजकुमारी शान्ति, राजकुमारी शारदा, राजकुमारी जयन्ती र शारदाका पति कुमार खड्गविक्रम शाह थिए।
सोही घटनामा राजकुमारी शोभा, कोमल शाह र कुमार गोरख शमशेर लगायतका सदस्यहरू गम्भीर घाइते भएका थिए।
नारायणहिटी हत्याकाण्ड भएको २५ वर्ष पुग्नै लाग्दा यो प्रकरणले फेरि नयाँ मोड लिएको छ। हिजो मात्रै वर्तमान गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको पुनः छानबिन अगाडि बढाउने औपचारिक निर्णय लिएका छन्।
विगतमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित समितिले प्रतिवेदन सार्वजनिक गरे पनि आम नागरिक र राजनीतिक वृत्त यसमा पूर्ण सन्तुष्ट हुन सकेका थिएनन्।
विगतमा राष्ट्रपति पौडेल गृहमन्त्री रहँदा भएको यो काण्डको फाइल वर्तमान गृहमन्त्री गुरुङले पुनः खोल्ने निर्णय गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
लामो समयदेखि रहस्यको गर्भमा रहेको यस ऐतिहासिक र संवेदनशील काण्डको निष्पक्ष छानबिन होला या नहोला भन्ने विषयलाई अहिले सर्वत्र निकै चासोका साथ हेरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया