Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

कृषि सामग्री कम्पनीका गोदाममा थन्कियो झण्डै १० करोड केजी मल


काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरूमा झण्डै १० करोड केजी रासायनिक मल थन्किएकाे छ । कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठेकाे कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाए पनि उठ्न नसक्दा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिँदैन । कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख ५४ हजार ५०० केजी युरिया मल मौज्दात रहेको छ भने, डीएपी २० लाख ९२ हजार ६०० केजी मौज्दात छ ।

यस्तै, पोटास ३२ लाख ४८ हजार ८५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ । तर, शाखा कार्यालयबाट उठ्न सकेको छैन ।

यस्तै, मधेश प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको अवस्था छ । यो प्रदेशमा विभिन्न शाखा कार्यालयमा ३ करोड ११ लाख ३१ हजार २०० केजी युरिया, १ करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मल मौज्दात छ ।

यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी युरिया, ५ लाख ९९ हजार १५० केजी डीएपी र २ लाख ५१ हजार ७५० केजी पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ ।

गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा ४ लाख ६ हजार ६५० केजी युरिया, १ लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ । तर, यहाँबाट पनि मल नउठाइएको अवस्था छ ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा १ करोड ५० लाख ३५ हजार ८५० केजी युरिया, ४६ लाख ४३ हजार ९०० केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात छ ।

कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा २ लाख १२ हजार २५० केजी युरिया, ७४ हजार ६५० केजी डीएपी, ४८ हजार ९५० केजी पोटास मौज्दात छ ।

यस्तै, सूदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १०० केजी युरिया, २ लाख ९३ हजार २५० केजी डीएपी र ४ लाख २३ हजार २०० केजी पोटास मौज्दात छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट