Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

भारतको नयाँ नियमले नेपाली चिया ठप्प, असार १ देखि इलामका ५३ उद्योग बन्द हुने


इलाम । भारत सरकारले नेपाली चिया आयातमा नयाँ तथा झन्झटिलो प्राविधिक मापदण्ड लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। बजार अवरुद्ध भएपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।

एसोसिएसनमा आबद्ध ५३ वटा चिया उद्योगले उत्पादन गरिएको चिया बिक्री हुन नसकेको र भण्डारण क्षमता समेत भरिएको जनाएका छन्। हाल भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको अवस्था रहेको छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार गरिएको चिया बिक्री नहुँदा उद्योगहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन्। बजार बन्द हुँदा पनि किसानलाई भुक्तानी गर्नुपर्ने दायित्व कायम रहेकाले उद्योग बन्द गर्नु बाध्यता बनेको उनको भनाइ छ।

भारतले मे १, २०२६ देखि नेपालबाट आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। उक्त व्यवस्थाअनुसार प्रत्येक ढुवानीमा पठाइएको चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने तथा नतिजा नआएसम्म बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने प्रावधान पनि राखिएको छ।

उद्योगी गोपाल कट्टेलले नयाँ प्रक्रियाका कारण नेपाली चियाको निर्यात प्रणाली नै अवरुद्ध भएको बताए। नेपाल सरकारले तत्काल कूटनीतिक पहल नगरे भारतीय बजारमा नेपाली चियाको स्थापित स्थान गुम्न सक्ने खतरा रहेको उनको चेतावनी छ।

उद्योग बन्द हुने निर्णयसँगै यस क्षेत्रका हजारौँ किसान प्रत्यक्ष प्रभावित हुने भएका छन्। सूर्योदय नगरपालिकामा मात्र करिब तीन हजार चिया किसान आबद्ध छन्। ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चियाखेतीबाट वार्षिक दुई करोड किलोभन्दा बढी हरियोपत्ती उत्पादन हुँदै आएको छ।

सूर्योदय नगरपालिकाले भारतीय अवरोध हटाउन र निर्यात प्रक्रिया सहज बनाउन परराष्ट्र मन्त्रालयमार्फत उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भारतीय गोदाममै नेपाली चिया लामो समय थन्किँदा गुणस्तरमा असर पर्ने र ठूलो आर्थिक क्षति हुन सक्ने बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गर्दछ। नेपालले प्रत्येक वर्ष सवा चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको अर्थोडक्स चिया निर्यात गर्दै आएको छ। इलाम, पाँचथर र धनकुटा नेपाली अर्थोडक्स चियाका प्रमुख उत्पादन क्षेत्र हुन्।

चिया उद्योगीहरूका अनुसार समस्या समाधानका लागि तत्काल सरकारी पहल नभए उद्योग, किसान र निर्यात क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट