Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

बाढी पहिरोका कारण ठाउँठाउँका सडकमा क्षति, कुन-कुन राजमार्ग छन् अवरुद्ध ?


काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका साथै काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सडक खण्डहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको हो।

बागमती प्रदेश र काठमाडौँ उपत्यकामा सडक मर्मत र पहिरोका कारण दीर्घकालीन प्रभाव पर्ने गरी सडकहरू बन्द गरिएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ देउराली देवीस्थानमा पहिरो गएका कारण सतुङ्गल-चित्लाङ सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो बाटो जेठ १६ गतेदेखि नै एक महिनाका लागि बन्द गरिएको हो।

त्यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड पनि सडक मर्मतका कारण जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रुपमा अवरोध गरिएको छ। उता, काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने बीपी राजमार्ग सडक खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, कोशी प्रदेशमा बाढी र पहिरोले मध्यपहाडी लोकमार्गलाई नराम्ररी प्रभावित बनाएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ पङ्खु खोलामा जेठ २८ गते गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको छ।

इलामको पुवाखोलामा आएको बाढीले मेची कोरिडोर पनि जेठ २८ गतेदेखि पूर्ण रूपमा बन्द छ, यद्यपि यहाँ वैकल्पिक बाटोको रूपमा तत्काल मेची राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। कोशी प्रदेशकै भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक प्रभावित भए पनि मध्यपहाडी लोकमार्गको उक्त खण्डमा वैकल्पिक बाटोको प्रयोग गर्दै यातायात एकतर्फी सुचारु गरिएको छ।

गण्डकी प्रदेशअन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङमा आज गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको छ। यद्यपि, त्यहाँ यातायात सुचारु गर्न वैकल्पिक बाटोको व्यवस्था भने रहेको छ। वर्षाको मौसम सुरु भएसँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ।

बाटो अवरोधसम्बन्धी थप र निरन्तर अद्यावधिक सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइट https://www.nepalpolice.gov.np/notices/1141/ मार्फत हेर्न सकिनेछ। लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

722037432_1319194730343047_472580272001235550_n

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट