वन अतिक्रमण हटाउने क्रममा कैलालीमा टेम्पो भिरबाट खसालियो, भिडियो भाइरल
कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। घटना भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ स्थित बासपानी क्षेत्रमा भएको हो।
स्थानीय धनादेवी धामीले पुरानो टेम्पोमा खुद्रा सामान बिक्री गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले सडक छेउमा राखिएको उक्त टेम्पोलाई वन क्षेत्र अतिक्रमण गरेको भन्दै हटाउने क्रममा भिरबाट खसालिदिएका हुन्।
धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामानहरू झारेपछि आफूले सवारीसाधन घर लैजान अनुमति मागेकी थिइन्। तर, कर्मचारीहरूले उनको आग्रह अस्वीकार गर्दै टेम्पोलाई सडकबाट तल भिरमा फालिदिएका थिए।
घटनापछि सामाजिक सञ्जालमा वन कार्यालयको कार्यशैलीप्रति तीव्र आलोचना भइरहेको छ। धेरैले अतिक्रमण हटाउने नाममा गरिएको व्यवहार अमानवीय भएको टिप्पणी गरेका छन्।
यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएको दाबी गरेका छन्। उनका अनुसार अतिक्रमण हटाउने क्रममा कर्मचारीमाथि गालीगलौज भएपछि उक्त अवस्था सिर्जना भएको हो।
डिभिजन वन कार्यालयले हालसम्म राजमार्ग क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका ४७ वटा संरचना हटाइसकेको जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया