नयाँ नेतृत्वसहित इप्पानको यात्रा सुरु, ऊर्जा क्षेत्रका चुनौती समाधानमा सक्रिय हुने प्रतिबद्धता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आगामी कार्यकालका लागि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। काठमाडौंस्थित याक एन्ड यती होटलमा आइतबार आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।
समारोहमा निवर्तमान अध्यक्ष गणेश कार्की तथा निर्वाचन समितिका पदाधिकारीहरूले नवनिर्वाचित नेतृत्वलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा, महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त चयन भएका छन्।
सचिव पदमा कृष्ण घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजयमोहन भट्टराई निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी शंकर बस्यालले सम्हाल्ने भएका छन्।शपथग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरूले इप्पानलाई ऊर्जा क्षेत्रको प्रभावकारी साझा मञ्चका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस अवसरमा इप्पानका नवनिर्वाचित सचिव तथा विभिन्न जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार तथा ऊर्जा सुरक्षाको प्रमुख आधार जलविद्युत् क्षेत्र भएको बताए। उनले ऊर्जा क्षेत्रमा विद्यमान नीतिगत जटिलता, प्रसारण पूर्वाधारका समस्या तथा लगानीकर्ताले भोगिरहेका चुनौती समाधानका लागि नयाँ नेतृत्व सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए।
घिमिरेले सरकार, निजी क्षेत्र र ऊर्जा क्षेत्रका सरोकारवालाबीच प्रभावकारी सहकार्यको आवश्यकता औंल्याउँदै गैरआवासीय नेपाली (एनआरएन) समुदायको लगानी जलविद्युत् क्षेत्रमा आकर्षित गर्न विशेष पहल गरिने जानकारी दिए।
उनले निजी क्षेत्रकै सक्रिय सहभागिताले नेपाललाई हजारौं मेगावाट विद्युत् उत्पादनको चरणमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा विद्युत् निर्यात विस्तार, प्रसारण सञ्जाल सुदृढीकरण तथा ऊर्जा व्यापार प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
नयाँ नेतृत्व चयनसँगै ऊर्जा क्षेत्रका लगानीकर्ता तथा सरोकारवालाहरूले इप्पानले जलविद्युत् क्षेत्रका विद्यमान समस्या समाधान, लगानी प्रवर्द्धन, नीतिगत सुधार र निजी क्षेत्रको हकहित संरक्षणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया