‘अलोका’सँगै शान्तिको सन्देश बोकेर लुम्बिनी पुगे भिक्षु पन्ना कारा, राष्ट्रपति पौडेलसँग पनि भेट गर्ने
लुम्बिनी । विश्वभर शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै हजारौँ किलोमिटर पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना कारा नेतृत्वको टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ। अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुरसहितको टोली आइतबार साँझ रुपन्देहीको बेलहिया नाका हुँदै लुम्बिनी प्रवेश गरेको हो।
विश्वका विभिन्न देशमा बढ्दो द्वन्द्व, हिंसा र युद्धका बीच शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा गरिरहेको टोलीले अमेरिका, भारत, श्रीलंका र थाइल्यान्डका विभिन्न क्षेत्रहरूमा लामो पदयात्रा पूरा गरिसकेको छ।
भिक्षु पन्ना काराले यसअघि सन् २०२२ मा भारतमा करिब ३४ सय किलोमिटर लामो शान्ति पदयात्रा गरेका थिए। त्यही यात्राका क्रममा कोलकातादेखि बोधगया जाने बाटोमा भेटिएको एक बेवारिसे कुकुर उनीहरूको यात्रामा जोडिएको थियो। सयौँ माइलसम्म टोलीलाई नछोडी साथ दिएपछि भिक्षुहरूले त्यसको नाम ‘अलोका’ राखेका थिए।
समयसँगै अलोका केवल एउटा कुकुरमा सीमित रहेन। शान्ति, निष्ठा र सहयात्राको प्रतीक बनेको अलोका अहिले अन्तर्राष्ट्रिय रूपमा ‘शान्ति दूत’ का रूपमा परिचित छ।
अलोकासहितको टोलीले हालै अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म ११२ दिन लगाएर करिब २३ सय माइल (झण्डै ३७ सय किलोमिटर) खाली खुट्टा पैदल यात्रा सम्पन्न गरेको थियो। उक्त यात्राको उद्देश्य विश्व शान्तिको पक्षमा जनचेतना फैलाउनु थियो।
अमेरिकाका १० भन्दा बढी राज्यमा पदयात्रा सम्पन्न गरेपछि टोली श्रीलंका, थाइल्यान्ड हुँदै भारत पुगेको थियो। त्यहाँबाट नेपाल प्रवेश गरी पुनः बुद्ध जन्मस्थल लुम्बिनी आएको हो।
लुम्बिनी आगमनपछि भन्ते पन्ना काराले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै पवित्र पुष्करिणी पोखरीको परिक्रमा गरेका थिए। त्यसपछि उनले विश्वभर युद्ध र अशान्तिबाट प्रभावित नागरिकहरूको कल्याण तथा विश्व शान्तिको कामना गर्दै विशेष सुत्त पाठ र ध्यान कार्यक्रम सञ्चालन गरे।
मायादेवी मन्दिर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्ते पन्ना काराले शान्ति बाहिर नभई मानिसको आफ्नै अन्तरमनभित्र रहेको बताए।
“यदि मानिसले आफ्नो अन्तरमनलाई हेर्न र बुझ्न सक्यो भने उसले शान्तिको मार्ग आफैं भेट्न सक्छ,” उनले भने।
पूर्व इन्जिनियर रहेका पन्ना काराले आफूले भौतिक जीवन त्यागेर बौद्ध भिक्षुको मार्ग रोज्नु जीवनकै ठूलो परिवर्तन भएको बताए।
“इन्जिनियरबाट बौद्ध भिक्षु बन्नु मेरो जीवनको पूर्ण रूपान्तरण थियो। पैसा कमाउने व्यस्त जीवनबाट सेवा, ध्यान र बुद्धका शिक्षाको अभ्यासमा समर्पित भएपछि मेरो जीवनको दृष्टिकोण नै बदलिएको छ,” उनले भने।
उनले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्दा लामो यात्राको सम्पूर्ण थकान हराएको अनुभूति भएको बताए।
“संसारलाई शान्तिको मार्ग देखाउने गौतम बुद्धको जन्मभूमिमा बसेर विश्व शान्तिको कामना गर्न पाउनु मेरो यात्राकै सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भावुक हुँदै भने।
अलोकाबारे बोल्दै उनले त्यो केवल कुकुर नभई आफ्नो यात्राको ‘जीवित प्रकाश’ भएको बताए। महिनौँसम्म पैदल यात्रामा सँगै हिँड्ने, ध्यानमा सहभागी हुने र अनुशासित व्यवहार प्रदर्शन गर्ने अलोकाले मानिसहरूलाई प्रेम, करुणा र अहिंसाको सन्देश दिइरहेको उनको भनाइ थियो।
भिक्षुहरूको टोलीलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले यस्तो अभियानले बुद्धका शिक्षालाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले विश्वका धेरै मुलुकहरू युद्धको चपेटामा परिरहेको वर्तमान परिस्थितिमा लुम्बिनीबाट पुनः विश्व शान्तिको सन्देश प्रवाह गर्न आवश्यक रहेको धारणा राखे। साथै, संयुक्त राष्ट्रसंघका विभिन्न महासचिवहरूले समेत लुम्बिनी भ्रमण गरिसकेको स्मरण गर्दै उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा अझ सशक्त रूपमा स्थापित गर्नुपर्ने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले पनि भिक्षुहरूको भ्रमणले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
लुम्बिनी भ्रमण सम्पन्न गरेपछि भन्ते पन्ना कारा नेतृत्वको टोली सोमबार काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको लुम्बिनी विकास कोषले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया