Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

ताप्लेजुङमा पहिलो प्रदेशस्तरीय अलैँची महोत्सव हुने, किसानदेखि व्यवसायीसम्म एकै थलोमा


काठमाडौं । नेपालको प्रमुख नगदेबालीमध्ये एक अलैँचीको उत्पादन, प्रवर्द्धन र बजारीकरणलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ताप्लेजुङमा पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ।

आगामी असार १२ र १३ गते ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन हुने महोत्सवले अलैँची खेतीसँग आबद्ध किसान, व्यवसायी, विज्ञ तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र बजार विस्तारका सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा अलैँचीका बोटबिरुवा, फलफूल तथा अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी गरिनुका साथै अलैँचीबाट तयार गरिएका विभिन्न खाद्य सामग्री पनि प्रदर्शनमा राखिनेछन्। साथै उत्कृष्ट र कमजोर अलैँची बगानको अवलोकन गरी उत्पादनमा प्रभाव पार्ने पक्षबारे जानकारी आदानप्रदान गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार अलैँची किसान कार्यशाला, खरिदकर्ता र विक्रेताबीच अन्तरक्रिया, आधुनिक खेती प्रविधि, उत्पादन वृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा विशेषज्ञहरूसँग छलफल समेत महोत्सवका मुख्य आकर्षण रहनेछन्।

पूर्वी पहाडी जिल्लाको आर्थिक आधारका रूपमा रहेको अलैँची खेती ताप्लेजुङका हजारौं किसानको आयआर्जनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। हाल जिल्लामा करिब ३ हजार ७०० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको तथ्यांक छ।आयोजकहरूले महोत्सवले अलैँचीको उत्पादन र गुणस्तर सुधारसँगै बजार प्रवर्द्धन तथा किसानको आयवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट