Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

शिक्षक सरुवामा नयाँ कडाइ, स्थायी पदमा जिल्लान्तर र अन्तर–स्थानीय तह सरुवा रोक


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको शिक्षक व्यवस्थापन समन्वय महाशाखाले शिक्षक सरुवासम्बन्धी तीन बुँदे निर्देशन जारी गर्दै स्थानीय तहहरूलाई स्थायी पदपूर्तिका लागि माग गरिएका दरबन्दीमा सरुवा नगर्न आग्रह गरेको छ।

महाशाखाले सोमबार देशभरका स्थानीय तहलाई पत्राचार गर्दै शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि पठाइएका पदहरूमा जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको हो।

निर्देशनअनुसार खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूले भने त्यस्ता रिक्त दरबन्दीमा शिक्षक सरुवा गर्न सक्नेछन्। महाशाखाले खुद पुल दरबन्दीको शिक्षक पदमा मात्रै सरुवा प्रक्रिया अघि बढाउन भनेको छ।

त्यसैगरी, कार्यसम्पादन मूल्याङ्कनको ७५ प्रतिशत आधारमा हुने बढुवाका लागि आवेदन दिएका सम्भावित उम्मेदवारको हकमा बढुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरुवाका लागि सहमति नदिन पनि स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।

महाशाखाको यो निर्देशन शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा स्थायी पदपूर्ति र बढुवा प्रक्रियालाई प्रभावित हुन नदिन जारी गरिएको जनाइएको छ।

723240149_1486713525988821_578679389538495355_n


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट