७ वर्षदेखि अख्तियार प्रमुख राईको सुरक्षामा रहेका पीएसओ प्रहरी हेडक्वार्टर तानिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै गरेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका निजी सुरक्षा अधिकृत (पीएसओ) सनम राईलाई पनि प्रहरी प्रधान कार्यालयमा तानेको छ।
कर्मचारी प्रशासन शाखाले जेठ २९ गते सार्वजनिक गरेको सरुवा सूचीअनुसार वरिष्ठ सई सनम राईलाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत अंगरक्षक गणमा सरुवा गरिएको हो। उनी विगत सात वर्षदेखि प्रमुख आयुक्त राईको सुरक्षार्थ खटिएका थिए।
प्रहरी संगठनमा सामान्यतया कुनै कर्मचारीको सरुवा हुँदा सो स्थानमा अर्को कर्मचारीको व्यवस्था गरिने भए पनि प्रमुख आयुक्तका पीएसओको हकमा भने तत्काल कुनै प्रतिस्थापन गरिएको छैन। सरुवा आदेश जारी भए पनि सोमबार दिउँसोसम्म उनी प्रमुख आयुक्त राईकै सुरक्षामा कार्यरत रहेको स्रोतले जनाएको छ।
सनम राई प्रमुख आयुक्त राई गृह मन्त्रालयमा सचिव रहेका समयदेखि नै पीएसओको जिम्मेवारी सम्हाल्दै आएका थिए। अख्तियार स्रोतका अनुसार उनको सरुवाका लागि प्रमुख आयुक्तको सचिवालय वा आयोगमा रहेको प्रहरी महाशाखाबाट कुनै सिफारिस वा उजुरी गरिएको थिएन।
यद्यपि, लामो समय एउटै जिम्मेवारीमा रहँदा संगठनसँग नियमित सम्पर्क र रिपोर्टिङ नगरेको आरोप उनीमाथि लागेको बताइएको छ। साथै, प्रहरीसँग सम्बन्धित उजुरी तथा अनुसन्धानका विषयमा केही उच्च प्रहरी अधिकारीहरूको चासो बढ्दै गएपछि उनको सरुवा गरिएको हुनसक्ने छ।
यस सरुवालाई लिएर प्रहरी संगठनभित्र र अख्तियार वृत्तमा विभिन्न चर्चा सुरु भएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया