साउन १ देखि त्रिविको ट्रान्सक्रिप्ट आवेदन पूर्ण रूपमा अनलाइन, भौतिक फाराम बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्ट आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाउने निर्णय गरेको छ। यससँगै आगामी साउन १ गतेदेखि ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन दिन सकिने व्यवस्था अन्त्य हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार चार वर्षे स्नातक तहअन्तर्गतका बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका विद्यार्थीहरूले अब अनिवार्य रूपमा अनलाइन माध्यमबाट मात्रै ट्रान्सक्रिप्टका लागि आवेदन दिनुपर्नेछ।
परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसार विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइटमा रहेको ‘स्टुडेन्ट पोर्टल’ प्रयोग गरी आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन्। आवेदन गर्दा रजिष्ट्रेसन कार्डमा उल्लेख भएको विवरण यथार्थ रूपमा प्रविष्ट गर्नुपर्ने र तोकिएको शुल्क पनि अनलाइन प्रणालीमार्फत नै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयले अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन वेबसाइटमा ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ उपलब्ध गराएको जनाएको छ। साथै, प्राविधिक समस्या वा अन्य सहजीकरणका लागि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा हेल्प डेस्क समेत सञ्चालन गरिने जानकारी दिइएको छ।
विद्यार्थीहरूले विवरण प्रविष्ट गर्दा विशेष सावधानी अपनाउनुपर्ने कार्यालयको आग्रह छ। गलत विवरण भरेमा युजर आईडी नै सिर्जना नहुने भएकाले आवेदन प्रक्रियामा समस्या आउन सक्ने बताइएको छ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया