‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको स्वरूप फेरियो, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’
काठमाडौं । मधेश प्रदेश सरकारले विगतमा सञ्चालन गर्दै आएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’लाई परिमार्जन गर्दै नयाँ स्वरूपमा अघि बढाउने भएको छ। प्रदेश सरकारले उक्त कार्यक्रमलाई अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’का रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज भट्टराईले ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी, समृद्ध मधेश’ भन्ने नारासहित कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।
मधेश प्रदेशको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ एक समय प्रदेश सरकारको सबैभन्दा चर्चित र लोकप्रिय योजनामध्ये एक मानिन्थ्यो। कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण, छोरी बीमा तथा लोकसेवा तयारी कक्षाजस्ता गतिविधिले राष्ट्रिय स्तरमै चर्चा पाएका थिए। तत्कालीन सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो।
तर साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि कार्यक्रम विवादमा तानिएको थियो। उक्त प्रकरणमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नामसमेत जोडिएपछि कार्यक्रमको प्रभावकारिता घट्दै गएको थियो। त्यसपछि कार्यक्रम प्रभावहीन बन्दै अलपत्र अवस्थामा पुगेको थियो।
प्रदेश सरकारले अब महिला उद्यमशीलता र आत्मनिर्भरतालाई प्राथमिकता दिँदै नयाँ स्वरूपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया