Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

मेलम्चीको पानी प्रभावकारी वितरणका लागि सुन्दरीजलमा १८०० मिमि व्यासको पाइप बिछ्याइँदै


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यले सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको विशाल पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार खानेपानी वितरणका लागि हालसम्म नेपालमा प्रयोग गरिएको यो सबैभन्दा ठूलो व्यासको पाइप हो। मेलम्चीको पानीलाई उपत्यकाभर सहज र नियमित रूपमा पुर्‍याउने लक्ष्यसहित पूर्वाधार विस्तारको काम तीव्र गतिमा अघि बढाइएको निर्देशनालयले जनाएको छ।

निर्देशनालय प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तार गर्न बोलपत्र आह्वान भइसकेको छ। अब निर्माण प्रक्रियाका अन्य चरणहरू पनि छिट्टै अगाडि बढाइने उनले जानकारी दिए।

“पाँच क्षेत्रमा वितरण सञ्जाल विस्तारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ। मेलम्चीको पानी उपत्यकावासीसम्म प्रभावकारी रूपमा पुर्‍याउन दिन–रात दुवै सिफ्टमा काम भइरहेको छ,” इन्जिनियर श्रेष्ठले बताए।

हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ। बिछ्याइएका पाइपहरूको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाइएको छ।

निर्देशनालयका अनुसार प्रणाली हस्तान्तरणपछि काठमाडौं उपत्यकाका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य रहेको छ। यसले उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट