Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी संगठन निर्माण अभियानअन्तर्गत हालसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

पार्टीका अनुसार केही जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको छ। कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन सम्पन्न हुन सकेको छैन।

त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भइसके पनि विभिन्न कारणले केही जिल्लामा प्रक्रिया स्थगित भएको छ। सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भएर बीचमै रोकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले देशभर संगठन सुदृढीकरण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकता दिँदै चरणबद्ध रूपमा अधिवेशन सम्पन्न गरिरहेको छ। बाँकी जिल्लामा पनि छिट्टै अधिवेशन सम्पन्न गरी संगठनात्मक संरचना पूर्णता दिने पार्टीको तयारी रहेको बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट