पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
काठमाडौँ । ‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२६’ को उपाधि पूर्णिमा कार्की र मृदुल आचार्यले जितेका छन्। राजधानीमा आयोजित विशेष कार्यक्रममा आयोजक संस्था सनुर्वी इन्टरन्यासनलले दुवै विजेताको घोषणा गरेको हो।
२४ वर्षीया पूर्णिमा कार्की पेशाले कानुन व्यवसायी तथा टेलिभिजन प्रस्तोता हुन्। उनी ‘मिस सुप्रन्यासनल नेपाल २०२६’ घोषित भएकी हुन्। यस्तै, ३० वर्षीय सिभिल इन्जिनियर मृदुल आचार्य ‘मिस्टर सुप्रन्यासनल नेपाल २०२६’ को उपाधि जित्न सफल भएका छन्।
आयोजकका अनुसार विजेताको छनोट आन्तरिक मूल्याङ्कन प्रक्रिया तथा विभिन्न मापदण्डका आधारमा गरिएको थियो। दुवै विजेताले आगामी जुलाई ३१ मा पोल्यान्डमा आयोजना हुने ‘मिस एन्ड मिस्टर सुप्रन्यासनल’ को अन्तर्राष्ट्रिय फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्राप्त गरेसँगै कार्की र आचार्यमाथि देशको प्रतिनिधित्व गर्दै आफ्नो क्षमता, व्यक्तित्व र प्रतिभा प्रदर्शन गर्ने जिम्मेवारी थपिएको छ।
प्रतियोगिताको छनोट तथा मूल्याङ्कन प्रक्रियामा सौन्दर्य प्रतियोगिता तथा व्यक्तित्व विकास क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। निर्णायक मण्डलमा सन्तोष उपाध्याय, धीरजकाजी बस्नेत, मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितिज श्रेष्ठ रहेका थिए।
आयोजकले सुप्रन्यासनल प्रतियोगितामार्फत नेपाली युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया