Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये ८६ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार कुल ११३ आवेदनमध्ये मूल्याङ्कनपछि ८६ जनालाई सर्टलिस्टमा समावेश गरिएको हो।सार्वजनिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जना, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७ जना छनोट भएका छन्।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि १४ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।सरकारले गत जेठ ४ गते यी प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो।

यसअघि पूर्णकालीन नेतृत्व चयन नभएसम्मका लागि मन्त्रालयले विभिन्न प्रतिष्ठानहरूमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको थियो। जसअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्रविक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्टलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बू र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइलीले निमित्त नेतृत्व सम्हालिरहेका छन्।

उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा पुगेसँगै प्रतिष्ठानहरूको नेतृत्व संरचना छिट्टै पूर्ण हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट