सुकुम्बासी नेतासँग काठमाडौंमा तीन तले घर रहेको खुलासा
काठमाडौं । सुकुम्बासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परियार सँग काठमाडौंमा तीन तले घर रहेको तथ्य सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरस्थित जागृतीटोलमा रहेको उक्त घरमा १६ कोठा रहेको पारिवारिक विवरणमा उल्लेख गरिएको छ । घर भने परियारकी श्रीमती शुभमाया कपाली को नाममा रहेको पाइएको छ ।
उक्त विवरण २०७७ साउन १४ गते नेपाल बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा पेश गरिएको सम्पत्ति विवरणपत्रबाट खुलेको हो । सो पत्रमा शान्तिनगरस्थित “शुभनारायण स्टोर्स” सञ्चालन भइरहेको घर तीन तले, १६ कोठा भएको र आफ्नै नाममा बिजुली जडान गरिएको उल्लेख गरिएको छ । पत्रअनुसार उक्त घर नेपाल सरकारको पर्ति जग्गामा निर्माण गरिएको र लालपुर्जा नभएको जनाइएको छ । साथै, स्थानीय बोलकबोलका आधारमा घरको मूल्यांकन ८० लाख रुपैयाँभन्दा बढी हुनसक्ने पनि उल्लेख गरिएको छ ।
यसैबीच, वडा कार्यालयले समेत शुभमाया कपाली र नारायण परियारबीच वैवाहिक सम्बन्ध रहेको पुष्टि गरेको छ । वडा नम्बर ३१ कार्यालयले २०७७ साउन १४ गते नै नाता प्रमाणित गर्दै कपालीलाई परियारकी पत्नीका रूपमा उल्लेख गरेको छ । सार्वजनिक भएको यो विवरणले सुकुम्बासी अधिकारको मुद्दा उठाउँदै आएका नेताको सम्पत्ति अवस्थाबारे नयाँ बहस सिर्जना गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया