Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

घोषणा अनुसार काम नगरे जसपा डन्डा लिएर सडकमा उत्रिन्छ : उपेन्द्र यादव


जनकपुरधाम, असार २४ — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेका प्रतिबद्धता पूरा नगरे आफ्नो पार्टी डन्डा लिएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पार्टीका अगुवा कार्यकर्ताको भेला, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले जनकपुरधाममा गरेको सम्बोधन स्मरण गर्दै संविधान संशोधनमार्फत संघीयतालाई थप सुदृढ बनाउने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

उनले संविधान संशोधन र संघीयता सुदृढीकरणको कार्यमा सरकार चुके जसपा नेपाल सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। यादवले वर्तमान सरकारले अघि सारेका धेरै एजेन्डा जसपा नेपालकै राजनीतिक मुद्दा र अवधारणाबाट प्रेरित रहेको दाबी समेत गरे।

अध्यक्ष यादवले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसके पनि जसपा नेपाल राजनीतिक रूपमा पराजित नभएको जिकिर गरे। उनले चुनावी हारका आन्तरिक कारणहरूको समीक्षा गर्दै कमजोरी सच्याएर आगामी निर्वाचनको तयारीमा जुट्ने बताए।

मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा सरकार गठन हुँदा भएका उपलब्धिहरूको पर्याप्त प्रचारप्रसार गर्न नसक्दा पार्टीलाई राजनीतिक क्षति पुगेको उनको भनाइ थियो। जनकपुरधाममा एमबीबीएस अध्ययनको व्यवस्था, कृषि विश्वविद्यालय स्थापना लगायतका महत्वपूर्ण काम जसपा नेतृत्वकै सरकारले गरेको भए पनि ती उपलब्धिबारे जनतालाई पर्याप्त जानकारी दिन नसकिएको यादवले स्वीकार गरे।

उनले अब जसपा नेपाल जनताको बीचमा पुगेर जनादेशअनुसार काम गर्ने र पार्टीको सिद्धान्त तथा जनअपेक्षाअनुसार मधेश तथा मधेशी समुदायको हक, अधिकार र पहिचान सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट