रास्वपा महाधिवेशनमा उम्मेदवारको बाढी : ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको प्रतिस्पर्धा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारहरूको उल्लेखनीय भीड देखिएको छ। पार्टीका ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार साँझ ७ बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म चलेको रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए। उनका अनुसार प्रारम्भिक विवरणमा ४ सयभन्दा बढी उम्मेदवारी परेको देखिएको छ भने नाम रुजु गर्ने काम जारी छ।
केन्द्रीय सदस्य पदका लागि पार्टीका सांसद, मन्त्री तथा विभिन्न तहका नेताहरूले समेत उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि नेताहरू मंगलबार बेलुकादेखि नै मतदातासँग भेटघाट र मत माग्ने अभियानमा सक्रिय देखिएका थिए। महाधिवेशनस्थलमा रातभर चुनावी माहोल देखिएको थियो।
पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिने व्यवस्था छ। सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेकाले रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य पदका लागि मात्र निर्वाचन हुनेछ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारउपर दाबी–विरोध, उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पूरा गरी बुधबार मतदान गरिनेछ। मतदान चितवन उद्योग संघ परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुने तय गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक आफैं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। नियमविपरीत मनोनयन दर्ता भएमा त्यस्तो उम्मेदवारी स्वतः अमान्य हुने आयोगले जनाएको छ।
पार्टीले सभापति पदका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरेको छ।
४ सयभन्दा बढी उम्मेदवार ९९ सिटका लागि प्रतिस्पर्धामा उत्रिएपछि रास्वपाको पहिलो महाधिवेशन निकै प्रतिस्पर्धात्मक बनेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया