रास्वपा महाधिवेशनमा रातभर मतदान हुने, नतिजा बिहीबार बिहान मात्रै
चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया ढिलो भएको छ। विद्युतीय मतदान प्रणालीमार्फत चुनाव गरिने तयारी भए पनि उम्मेदवारहरूको अन्तिम नामावली तयार नभएकाले मतदान निर्धारित समयमै सुरु हुन सकेको छैन।
केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारीमाथिको दाबी–विरोध तथा नाम फिर्ताको प्रक्रिया सकिएपछि मात्रै निर्वाचन आयोगले अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्नेछ। त्यसपछि उम्मेदवारको फोटोसहितको विवरण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गरिनेछ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार मतदान प्रक्रिया साँझ ६ बजेपछि मात्रै सुरु हुने सम्भावना छ।विद्युतीय मतदान प्रणालीका प्राविधिक लक्ष्मण रिजालका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले एक प्रतिनिधिलाई मतदान गर्न १५ देखि २० मिनेटसम्म समय लाग्न सक्छ।
“उम्मेदवारी संख्या हेर्दा एक जनाले मत दिन कम्तीमा १५ देखि २० मिनेट लाग्ने देखिएको छ,” उनले बताए।
रास्वपामा चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेका छन्। सबै प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भए मतदान सम्पन्न गर्न ११ घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।रिजालका अनुसार मतदान रातभर सञ्चालन भए मतगणना भने छिट्टै सम्पन्न हुनेछ। “रातभर मतदान भए नतिजा निकाल्न दुई–तीन घण्टामात्र लाग्छ। भोलि बिहान पहिलो चरणमै परिणाम सार्वजनिक गर्न सकिन्छ,” उनले भने।
मतदानमा भएको ढिलाइले महाधिवेशन प्रतिनिधि समयमै घर फर्किन नपाउने चिन्ता उम्मेदवारहरूमा बढेको छ। मतदान सुरु हुन ढिलाइ भएपछि उम्मेदवारहरू अहिले पनि प्रतिनिधिमाझ आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसारमा सक्रिय छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। विद्युतीय प्रणालीमार्फत निर्वाचन गरिन लागिएकाले यसलाई पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया