Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

राजदूत नियुक्तिमा नयाँ अभ्यास, ४ हजार आवेदन दिनेहरूको सूची सार्वजनिक नहुने


काठमाडौं।परराष्ट्र मन्त्रालयले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सम्पन्न भएलगत्तै राजदूत नियुक्ति प्रक्रियालाई तीव्र बनाउने तयारी गरेको छ। खुला आवेदनमार्फत रिक्त रहेका १३ देशका लागि राजदूत नियुक्त गर्न मन्त्रालयले करिब ४ हजार आवेदन प्राप्त गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको कार्यक्रमबाट फर्किएपछि आवेदनहरूको विस्तृत मूल्याङ्कन तथा सर्टलिस्टिङ प्रक्रिया अघि बढाइनेछ।

मन्त्रालयले प्राप्त आवेदनकर्ताहरूको नामावली सार्वजनिक नगर्ने निर्णय गरेको छ। व्यक्तिगत गोपनीयताको सम्मान गर्दै आवेदन दिनेहरूको विवरण गोप्य राखिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार अहिले आवेदनहरूको प्रारम्भिक परीक्षण भइरहेको छ। आवेदन रीतपूर्वक दर्ता भए वा नभएको, दोहोरो आवेदन परेको छ वा छैन भन्ने विषयमा अध्ययन जारी रहेको छ। एउटै व्यक्तिले १० वटा फरक देशका लागि समेत आवेदन दिएको पाइएको बताइएको छ।

परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते सूचना जारी गर्दै अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन आह्वान गरेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया अघि बढाइएको हो। यसअघि राजनीतिक दलहरूको सिफारिस वा भागबण्डाका आधारमा राजदूत नियुक्त हुने गरेको आलोचना भइरहेका बेला सरकारले नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ।

परराष्ट्र मन्त्रालयले तयार पारेको ‘टर्म्स अफ रेफरेन्स (टिओआर)’ अनुसार राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे पर्याप्त ज्ञान भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति मात्र योग्य मानिनेछ।

त्यस्तै, भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित अपराधमा दोषी ठहरिएको, सरकारी सेवाबाट बर्खास्त भएको, विदेशी स्थायी बसोबास अनुमति लिएको वा विदेशी संस्थामा प्रत्यक्ष आबद्ध रहेको व्यक्ति राजदूत बन्न अयोग्य हुने व्यवस्था गरिएको छ।

परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाबाट योग्य, सक्षम र व्यावसायिक व्यक्तिलाई कूटनीतिक नेतृत्वमा ल्याउने उद्देश्यसहित यो प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार अब प्राप्त आवेदनहरूबाट उत्कृष्ट उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गरिनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट