Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

कुलमानले रसुवावासीलाई शेयर दिलाएको दाबी ‘निकृष्ट झूट’ भएको अनिल शर्माको भनाइ


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता अनिल शर्मा ‘विरही’ ले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रसुवावासीलाई जलविद्युत् आयोजनाको शेयर दिलाएको दाबी गरेको भन्दै त्यसलाई “निकृष्ट तथा अनैतिक” भएको बताएका छन् ।
रसुवामा जनतालाई विद्युतकाे शेयर दिलाउँदाका इञ्चार्ज तथा संघर्षकाे नेतृत्व गरेका
शर्माले सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जलविद्युत् आयोजनाका पूर्व निर्देशक डम्बर बहादुर नेपालीको तस्बिर सार्वजनिक गर्दै रसुवावासीले शेयर प्राप्त गर्नुमा कुलमान घिसिङको नभई स्थानीय जनता, राजनीतिक कार्यकर्ता तथा कानुनी क्षेत्रका व्यक्तिहरूको योगदान रहेको दाबी गरेका हुन् ।

उनले रसुवामा जलविद्युत् आयोजनाबाट स्थानीय जनताले लाभ पाउनुपर्ने मागसहित माओवादी पार्टीले आन्दोलन सञ्चालन गरेको स्मरण गर्दै सुरुमा निःशुल्क विद्युत्, आकस्मिक सवारीसाधन, स्थानीयलाई रोजगारी तथा सीपमूलक तालिमलगायतका माग अघि सारिएको बताएका छन् । पछि लक्ष्मी प्रसाद देवकोटा र सीताराम थापासँगको छलफलपछि स्थानीयलाई शेयर उपलब्ध गराउने मागलाई मुख्य एजेन्डा बनाइएको उनको भनाइ छ ।

शर्माका अनुसार आन्दोलनका क्रममा अवस्था झडपसम्म पुगेको थियो र जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द गराइएको थियो । त्यस सन्दर्भमा तत्कालीन प्रबन्ध निर्देशक डम्बरबहादुर नेपालीले “आयोजनाको उत्पादन बन्द भयो भन्ने सुन्दा छातीमा गोली लागेजस्तै पीडा भयो” भन्ने प्रतिक्रिया दिएको उनले उल्लेख गरेका छन् । तर, नेपालीले जनताको मागविरुद्ध भूमिका नखेलेको शर्माको दाबी छ ।
शर्माले त्यसबेला चिलिमे जलविद्युत् आयोजनामा कुलमान घिसिङ कनिष्ठ कर्मचारीका रूपमा कार्यरत रहेको उल्लेख गर्दै शेयर दिलाउने प्रक्रियामा उनको कुनै भूमिका नरहेको जिकिर गरेका छन् । उनले गत्लाङ, गोल्जुङ र चिलिमेका स्थानीय बासिन्दा तथा विभिन्न स्थानका माओवादी कार्यकर्ताहरू आन्दोलनमा सक्रिय रहेको बताएका छन् ।
उनले जगतजंग, समीर, तेन्जेन र ध्रुव खड्कालगायत व्यक्तिहरूले आन्दोलन सफल बनाउन ठूलो योगदान दिएको उल्लेख गरेका छन् । साथै स्थानीय समुदायले जलविद्युत् आयोजनाको शेयर पाउने अधिकार स्थापित गर्न सर्वोच्च अदालतमा नजिर कायम गराउने प्रक्रियामा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र मुक्ति प्रधानको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्।
शर्माको यो टिप्पणी पछिल्लो समय कुलमान घिसिङको भूमिकाबारे भइरहेका सार्वजनिक बहसका बीच आएको हो। उनले रसुवावासीलाई शेयर उपलब्ध गराउने ऐतिहासिक उपलब्धिलाई कुनै एक व्यक्तिको योगदानका रूपमा प्रस्तुत गर्नु तथ्यविपरीत हुने दाबी गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट