महाधिवेशन बीचमै छाडेर काठमाडौं फर्कियो बालेनको टिम
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबीच प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान काठमाडौं फर्किएका छन्।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला बालेन आफ्नो टोलीसहित बिहान १०:५० बजे बुद्ध एयरको उडानमार्फत भरतपुरबाट काठमाडौं प्रस्थान गरेका हुन्।महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन गत आइतबार (असार ७ गते) पत्नी सविना र छोरीसहित चितवन पुगेका बालेनले मंगलबार पार्टी सभापति पदका लागि रवि लामिछानेको प्रस्तावक बनेका थिए। सभापतिमा अन्य कुनै उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
आइतबारदेखि भरतपुरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका बालेनले काठमाडौं फर्किनुअघि बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पत्नी र छोरीसँगको तस्वीर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ भन्ने सन्देश साझा गरेका थिए।उनको काठमाडौं फिर्तीसँगै महाधिवेशनमा सहभागी बालेन समूहका अन्य नेताहरू भने केन्द्रीय सदस्य पदको चुनावी प्रतिस्पर्धामा व्यस्त रहेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया