Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

चितवनबाटै चलिरहेछ सिंहदरबार, भर्चुअल जोडिँदै मन्त्रीहरू


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरू चितवनमा रहे पनि सरकारी कामकाज भने नियमित रूपमा सञ्चालन भइरहेको दाबी गरिएको छ।

महाधिवेशनका लागि असार ६ गतेदेखि नै नेता तथा कार्यकर्ताहरू चितवन पुग्न थालेका थिए। कतिपय मन्त्री महाधिवेशनको पूर्वसन्ध्यामै भरतपुर पुगेका थिए। असार ७ गते उद्घाटन भएको महाधिवेशन असार ९ गते सम्पन्न हुने तय भए पनि निर्धारित समयभन्दा लम्बिएपछि मन्त्रीहरूको चितवन बसाइँसमेत लम्बिएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबाहेक सरकारका सबै मन्त्री महाधिवेशनमा सहभागी भएका छन्। प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह भने बुधबार बिहान आफ्नो टोलीसहित बुद्ध एयरमार्फत काठमाडौं फर्किएका छन्।अन्य मन्त्रीहरू भने अझै चितवनमै छन्। सरकारमा सहभागी अधिकांश मन्त्री पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी भएकाले मतदान प्रक्रिया नसकिएसम्म उनीहरू काठमाडौं फर्किने सम्भावना कम देखिएको छ।

प्रधानमन्त्री र अधिकांश मन्त्री चितवनमा रहँदा सिंहदरबारको कामकाज कसरी अघि बढिरहेको छ भन्ने विषयमा चासो बढेको छ। तर, मन्त्रीहरूका अनुसार प्रविधिको प्रयोग र सचिवालयको समन्वयका कारण सरकारी काम प्रभावित भएको छैन।महाधिवेशनस्थलमै रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आवश्यकताअनुसार भर्चुअल माध्यमबाट मन्त्रालयसँग जोडिएर काम गरिरहेको बताए।

‘मन्त्रालयमै बसेजस्तो सहज त हुँदैन, तर उपलब्ध सबै विकल्प प्रयोग गरेर काम अगाडि बढाइरहेका छौं,’ उनले भने, ‘नीतिगत निर्देशन, योजना, ब्रिफिङ, समस्या समाधानजस्ता विषयमा चितवनबाटै नियमित रूपमा समन्वय भइरहेको छ।’

महाधिवेशनमा सहभागी अर्का एक मन्त्रीले निजी सचिव सिंहदरबारमै रहेकाले मन्त्रालयको काममा ठूलो असर नपरेको बताए। उनका अनुसार आवश्यक पर्दा सचिव र अन्य अधिकारीसँग भर्चुअल बैठकमार्फत निर्देशन दिने काम भइरहेको छ।

सूचना प्रविधि विभागले विकास गरेको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू भएका मन्त्रालयहरूले डिजिटल हस्ताक्षरको प्रयोगमार्फत फाइल अघि बढाउने र निर्णय गर्ने काम गरिरहेका छन्।महाधिवेशनका क्रममा मन्त्रीहरूले चितवन र आसपासका क्षेत्रमा सरकारी योजनाको अनुगमन र निरीक्षणलाई पनि प्राथमिकता दिएका छन्। बजेटमा समेटिएका आयोजनाहरूको अवस्था बुझ्न सम्बन्धित मन्त्रालयका सचिव तथा आयोजना प्रमुखसँग छलफल भइरहेको छ।

चितवन–२ का सांसद हरि ढकालले स्वास्थ्यमन्त्री निशा मेहतासहित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेका थिए। सो अवसरमा अस्पतालको सेवा, पूर्वाधार र प्राविधिक क्षमताबारे छलफल भएको थियो।त्यस्तै, चितवन–३ की सांसद तथा कानुनमन्त्री सोबिता गौतमले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगै गोलाघाटदेखि नवलपरासी पूर्व जोड्ने प्रस्तावित पुलको अवलोकन गरेकी थिइन्। उनले माडी क्षेत्रमा प्रस्तावित पुल र सडक आयोजनाको निरीक्षणका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई समेत सहभागी गराएकी थिइन्।

वनमन्त्री चौधरीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणबाट अभिभावक गुमाएका विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेकी छन्। साथै, उनले देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको पनि अवलोकन गरेकी थिइन्।सरकारले समस्याग्रस्त तथा घाइते बाघका लागि प्राकृतिक वातावरण उपलब्ध गराउने उद्देश्यले टाइगर सेन्चुरी निर्माणको योजना अघि बढाएको छ। मन्त्री चौधरीका अनुसार यसले वन्यजन्तु संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट