फिफा निलम्बनपछि एन्फा मुख्यालयमा व्यंग्यात्मक विरोध, ‘Thank You ANFA’ लेखिएका प्लेकार्ड टाँसिए
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि असन्तुष्ट खेलाडी तथा फुटबलसँग सम्बन्धित सरोकारवालाले एन्फा नेतृत्वविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
एन्फा मुख्यालयको प्रवेशद्वारमा ‘Thank You ANFA!!!’, ‘धन्यवाद एन्फा’, ‘हार्दिक बधाई एन्फा पदाधिकारीज्यूहरू’ तथा ‘नेपाली फुटबलको यो अवस्थाले तपाईंहरूलाई सधैं सम्झना गर्नेछ’ लगायत व्यंग्यात्मक सन्देश लेखिएका प्लेकार्ड टाँसिएका छन्।
प्रदर्शनकारीहरूले प्लेकार्डमार्फत नेपाली फुटबल अहिलेको संकटपूर्ण अवस्थासम्म पुग्नुमा एन्फा नेतृत्वको भूमिका रहेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन्। विरोध शान्तिपूर्ण रूपमा गरिएको देखिएको छ।
फिफाको निलम्बनपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता, प्रतियोगितामा उपस्थिति तथा प्रशासनिक भविष्यबारे अन्योल बढिरहेका बेला एन्फा नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउने क्रम पनि तीव्र बनेको छ।
यस घटनाप्रति एन्फाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। यद्यपि मुख्यालयमा टाँसिएका व्यंग्यात्मक प्लेकार्डले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति खेलाडी, समर्थक र सरोकारवालाबीच बढ्दो असन्तुष्टिलाई उजागर गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया