१८ वर्षमुनिका बालबालिकालाई दलको सदस्य नबनाउन नेपाली कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी अपिलमा बालबालिकाको बालापन, शिक्षा र अधिकारको पूर्ण संरक्षणका लागि सबै राजनीतिक दल, तिनका कार्यसमिति तथा शुभेच्छुक संस्थाहरूलाई सचेत गराइएको छ।
सदस्य सङ्ख्या बढाउने नाममा प्रतिस्पर्धा गर्दा बालबालिकाको अधिकार हनन हुने र यो गतिविधि संविधान तथा प्रचलित कानुन विपरीत हुने भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ। बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य तत्काल रोक्न उपसमितिले सबै दललाई अपिल गरेको छ।
यसैबीच, नेपाली कांग्रेसले हाल डिजिटल प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता अभियान सञ्चालन गरिरहेको छ। पार्टीको आधिकारिक पोर्टलमा असार २० गतेसम्म इच्छुक नेपाली नागरिकले अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहेका नागरिकहरूले १८ वर्ष पूरा गरेपछि मात्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने कांग्रेसको स्पष्ट व्यवस्था छ। उपसमितिले दलहरूलाई आफ्नो आन्तरिक प्रतिस्पर्धालाई बालमैत्री बनाउन र कानुनको परिधिभित्र रहेर मात्र सदस्यता वितरण गर्न ध्यानाकर्षण गराएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया