अमेरिकाद्वारा इरानका मिसाइल र ड्रोन केन्द्रमा हवाई आक्रमण, जवाफमा अमेरिकी सैन्य अखडामा इरानी हमला
काठमाडौं । अमेरिकाले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय राडार साइट र अन्य सैन्य संरचनामाथि करिब एक घण्टासम्म हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेपछि उक्त कारबाही गरिएको बताएका छन्।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार, जुन २५ मा इरानले होर्मुज जलडमरूमध्यमा सिङ्गापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’ माथि ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी सैन्य कारबाही गरेको हो।
यता, इरानको सरकारी समाचार एजेन्सीले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को नौसेनाले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर जवाफी हमला गरेको दाबी गरेको छ।
इरानी संसद्का सदस्य इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले वार्ता जारी रहँदाकै अवस्थामा फेरि इरानमाथि हमला गरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए। उनले यस कदमको परिणाम अमेरिकाले भोग्नुपर्ने चेतावनी दिएका छन्।
इरानले अमेरिका र इजरायललाई समर्थन गर्ने नेटो सदस्य राष्ट्रहरूलाई पनि जवाफदेही बनाउनुपर्ने माग गरेको छ। इरानी विदेश मन्त्रालयले ती देशहरूले सैन्य कारबाहीको समर्थन किन गरे भन्ने स्पष्ट पार्नुपर्ने जनाएको छ।
बीबीसीका अनुसार, आईआरजीसीले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयसँग सम्बन्धित आठवटा सैन्य अखडालाई संयुक्त अभियानअन्तर्गत ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जनाएको छ। इरानले यी हमला हालैका अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ।
इरानलाई नष्ट गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि युद्धविरामको उल्लङ्घन जारी रहे ‘इरानको अस्तित्व मेटिने’ धम्की दिएका छन्। ट्रम्पको यो धम्की इरानमाथि अमेरिकाको ताजा हमलापछि आएको हो। अमेरिकी सेनाले दाबी गरेअनुसार, इरानले पानामाको झन्डा भएको एउटा तेल ट्याङ्करलाई निशाना बनायो, त्यसपछि अमेरिकाले इरानमाथि हमला गरेको हो।
अमेरिकी राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘युद्धविराम सम्झौताको फेरि उल्लङ्घन भएकोले अमेरिकी विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण अखडाहरू तथा राडार साइटहरूमा हमला गरेका छन्।’
उनले भने, ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। यस्तो समय आउन सक्छ जब हामी उचित रवैया अपनाउने स्थितिमा रहनेछैनौँ र हामीले जुन काम निकै सफलतापूर्वक सुरु गरेका थियौँ, त्यसलाई सैन्य बलबाट पूरा गर्न बाध्य हुनुपर्नेछ।’
उनले चेतावनी दिँदै थपे, ‘यदि त्यस्तो भयो भने, इस्लामिक रिपब्लिक अफ इरान अस्तित्वमा रहनेछैन।’
अमेरिकी उपराष्ट्रपति : ‘हिंसाको जवाफ हिंसाबाटै’
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले विवादको समाधान वार्तामार्फत हुनुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि जारी रहे त्यसको जवाफ पनि त्यहीअनुसार दिइने बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यदि समझदारी कार्यान्वयनका विषयमा कुनै मतभेद छ भने इरानले वार्ताको बाटो रोज्नुपर्छ। हिंसा भए त्यसको जवाफ पनि दिइनेछ।”
क्याटेगोरी : अन्तराष्ट्रिय












प्रतिक्रिया