शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा असार १५ देखि पुनः सञ्चालनमा आउने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। विगत केही समयदेखि स्थगित रहेको उक्त सेवालाई अस्पताल प्रशासनले आगामी असार १५ गतेदेखि लागू हुने गरी पुनः सुचारु गर्न लागेको हो।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको आधिकारिक जानकारी दिएको छ।
बीमा अन्तर्गतका अन्य सेवाहरूका बारेमा स्पष्ट नभए पनि ओपिडी सेवालाई भने नागरिकको सहजताका लागि तत्काल अघि बढाउन लागिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार बीमा अन्तर्गत ओपिडी सेवा लिन आउने सेवाग्राहीहरूका लागि टिकट वितरण गर्ने निश्चित समय समेत निर्धारण गरिएको छ।
सेवाग्राहीहरूले स्वीकृत समय तालिका अनुसार बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म अस्पतालमा तोकिएको बीमा टिकट काउन्टरबाट ओपिडी टिकट लिन सक्नेछन्।
यस व्यवस्थाबाट स्वास्थ्य बीमा गराएका सर्वसाधारण नागरिकलाई शिक्षण अस्पतालबाट सहुलियतपूर्ण उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया