विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीमाथि कडा निर्णय, चार्टर्ड उडानसमेत रद्द
काठमाडौं । सन् २०२६ फिफा विश्वकपको समूह चरणबाट अप्रत्याशित रूपमा बाहिरिएपछि उरुग्वे फुटबल संघले राष्ट्रिय टोलीप्रति कडा कदम चालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टोलीका लागि पूर्वनिर्धारित निजी चार्टर्ड विमान रद्द गरिएको छ, जसका कारण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूले स्वदेश फर्कन आफ्नै व्यवस्थामा यात्रा गर्नुपर्ने भएको छ।
बेलायती सञ्चारमाध्यम द सन ले उरुग्वेली सञ्चारमाध्यमलाई उद्धृत गर्दै संघले निराशाजनक प्रदर्शनपछि यस्तो निर्णय लिएको जनाएको छ। यद्यपि, चार्टर्ड उडान रद्द गर्नुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।
दुई पटकको विश्वकप विजेता उरुग्वे यसपटक समूह चरण सहजै पार गर्ने टोलीका रूपमा हेरिएको थियो। अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा रहेको टोलीबाट केप भर्डे र साउदी अरेबियासँगको समूह पार गर्दै नकआउट चरणमा पुग्ने अपेक्षा गरिएको थियो।
तर प्रतियोगिताभर उरुग्वेको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। पहिलो खेलमा साउदी अरेबियासँग बराबरी खेलेको टोलीले केप भर्डेविरुद्ध पनि प्रभावशाली खेल देखाउन सकेन। त्यसपछि अन्तिम खेलमा स्पेनलाई हराउनै पर्ने दबाबका बीच उत्रिएको उरुग्वे १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरियो। उक्त खेलमा गोलरक्षक फर्नान्डो मुस्लेराको गल्ती निर्णायक बनेको बताइएको छ।
विश्वकपको अन्तिम खेलअघि नै प्रशिक्षक बिएल्सा र केही खेलाडीबीच असन्तुष्टि तथा मतभेद रहेको चर्चा पनि सार्वजनिक भएको थियो।
प्रतियोगिताबाट बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक बिएल्साले टोलीको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। उनले तीन वर्षसम्म टोली सम्हाल्दा पनि अपेक्षित नतिजा दिन नसकेको स्वीकार गर्दै आफ्नो कार्यकाल समाप्त हुने संकेतसमेत गरेका छन्।
बिएल्साले प्रदर्शनका आधारमा टोलीले सात अंकसम्म जोड्न सक्ने अवस्था भए पनि दुई अंकमै सीमित हुनु आफ्नो नेतृत्वको कमजोरी भएको बताए। साथै, गोलरक्षक फर्नान्डो मुस्लेरा र कप्तान फेडेरिको भाल्भेर्डेलाई परिवर्तन गर्नु टोलीको आक्रमणलाई थप प्रभावकारी बनाउने रणनीतिक निर्णय भएको उनको भनाइ थियो।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया