Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

बहराइनलाई इरानको कडा चेतावनी


मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएका समाचार एजेन्सी एएनलाईले जनाएको छ ।

तस्निम समाचार संस्थाका अनुसार उनले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताए । अमेरिकाले आफ्नोविरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ ।

यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन् । दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ ।

अहिलेको तनावको केन्द्रमा हर्मुज जलमार्ग रहेको छ । व्यापारिक जहाजहरूको आवागमन र सुरक्षासम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढेको हो । प्रारम्भिक समझदारीअनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो ।

गएको साता स्विट्जरल्यान्डमा भएको वार्तामा अमेरिकी र इरानी पक्षबीच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो । तर इरानले जहाजहरूले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि यो योजना कार्यान्वयन हुन सकेन ।

मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिलाई लिएर बढ्दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न गरेको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट