होटेल–रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ गर्न सिडिओलाई सरकारको निर्देशन
काठमाडौँ । सरकारले नागरिक स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई होटेल तथा रेस्टुरेन्टको खाद्य गुणस्तर, सरसफाइ र बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।
गृह मन्त्रालयले जारी गरेको परिपत्रमा केही होटेल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासा आएको उल्लेख गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्रमुख जिम्मेवारी भएकाले सम्बन्धित निकायसँग समन्वय गरी समस्याको तत्काल समाधान गर्न मन्त्रालयले आग्रह गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अगुवाइमा जारी निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाभित्र सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर तथा सरसफाइको नियमित, सघन र आकस्मिक अनुगमन गर्नुपर्नेछ।
मन्त्रालयले अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन जोड दिएको छ। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गतिविधि वा प्रचलित कानुन उल्लंघन गर्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न समेत निर्देशन दिइएको छ।
यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासा दर्ता गर्न सक्ने हटलाइन वा द्रुत सेवा डेस्कसहितको गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न मन्त्रालयले भनेको छ। प्राप्त हुने हरेक गुनासोलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी शीघ्र समाधान गर्न पनि सिडिओहरूलाई निर्देशन दिइएको छ।
स्थानीय तहसँग सम्बन्धित समस्या र गुनासाहरू जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको समन्वयमा स्थानीय स्तरमै समाधान गर्नुपर्ने मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया