युरोपियन टी–२० प्रिमियर लिगमा सन्दीप, रटरडाम डकर्सबाट खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) मा रटरडाम डकर्सबाट खेल्ने भएका छन्। क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो।
युरोपमा पहिलोपटक आयोजना हुन लागेको ईटीपीएल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को स्वीकृति प्राप्त बहुराष्ट्रिय फ्रेन्चाइज टी–२० प्रतियोगिता हो। प्रतियोगिताको पहिलो संस्करणमा विभिन्न देशका चर्चित क्रिकेटरहरूको सहभागिता रहनेछ।
अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श प्रतियोगितामा खेल्ने खेलाडीको सूचीमा रहेका छन्। त्यस्तै, अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वह र विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल विभिन्न फ्रेन्चाइज टोलीका मालिकका रूपमा आबद्ध छन्।
विश्वका विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलिसकेका सन्दीपका लागि ईटीपीएल अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय अवसरका रूपमा हेरिएको छ। नयाँ लिगमा उनको प्रदर्शनप्रति नेपाली क्रिकेट समर्थकको विशेष चासो रहने अपेक्षा गरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया