विश्वकप २०२६ फाइनल टिकट इतिहासकै महँगो, मूल्य झण्डै ५० लाख रुपैयाँसम्म
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलका आधिकारिक टिकटको मूल्य विश्वकप इतिहासमै सबैभन्दा उच्च स्तरमा पुगेको छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदैछ।
फिफाको टिकटिङ प्लेटफर्म, ईएसपीएन र एसोसिएटेड प्रेसका अनुसार फाइनलको क्याटेगोरी–१ अन्तर्गतको उत्कृष्ट सिटको मूल्य ३२ हजार ९७० अमेरिकी डलरसम्म पुगेको छ। नेपाली रुपैयाँमा यसको मूल्य करिब ४९ लाख ४६ हजार बराबर पर्छ।यो टिकट सुरुवाती चरणमा १० हजार ९९० अमेरिकी डलरमा बिक्रीका लागि राखिएको थियो। फिफाले पहिलोपटक लागू गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणालीका कारण माग बढेसँगै मूल्य तीन गुणाभन्दा बढीले वृद्धि भएको हो।
यसैबीच, रोयटर्सका अनुसार बेलायती कम्पनी नाइट्सब्रिज सर्कलले विशेष आतिथ्य सुविधासहित फाइनलका अगाडिका ६ सिट ४० लाख अमेरिकी डलर अर्थात् करिब ६० करोड रुपैयाँमा बिक्री गरेको जनाएको छ। पिचसम्म प्रत्यक्ष पहुँच हुने अन्य दुई विशेष टिकटको मूल्य प्रतिथान १५ लाख अमेरिकी डलर तोकिएको छ।
फाइनल खेलको सबैभन्दा सस्तो साधारण टिकट २ हजार ३० अमेरिकी डलर अर्थात् करिब ३ लाख ५ हजार रुपैयाँमा उपलब्ध छ। अन्य टिकटको मूल्य २ हजार ७९० डलर, ४ हजार २१० डलर र ६ हजार ७३० डलरसम्म रहेको जनाइएको छ।फाइनल मात्र नभई नकआउट चरणका अन्य खेलका टिकट पनि महँगा बनेका छन्। सेमिफाइनलको सबैभन्दा महँगो टिकट ११ हजार १३० अमेरिकी डलर, क्वार्टरफाइनलको ५ हजार ३०५ डलर तथा अन्तिम १६ चरणको ३ हजार ७८० डलरसम्म पुगेको छ।
रोयटर्सका अनुसार हालसम्म सम्पन्न ७२ समूह चरणका खेल र एक नकआउट खेलमा करिब ३७ लाख दर्शकले रंगशालामै पुगेर खेलको अवलोकन गरिसकेका छन्। प्रतियोगिताका ३६ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् भने औसत दर्शक उपस्थिति ९९.६ प्रतिशत रहेको छ।फिफाले लागू गरेको डाइनामिक प्राइसिङ प्रणालीअन्तर्गत माग बढे वा घटेअनुसार टिकटको मूल्य स्वतः समायोजन हुने व्यवस्था गरिएको छ। फिफाको दाबीअनुसार यसले कालोबजारी नियन्त्रण र दोस्रो बजारमा हुने अत्यधिक नाफामुखी कारोबारलाई रोक्न मद्दत गर्नेछ।
यद्यपि, आलोचकहरूले भने यस प्रणालीका कारण सामान्य फुटबल समर्थकका लागि विश्वकप प्रत्यक्ष रूपमा रंगशालामा बसेर हेर्न झन् कठिन र खर्चिलो बनेको टिप्पणी गरेका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया