कारागार हिनामिना प्रकरण : अभिषेक गिरीको सम्पत्ति, बैंक कारोबार र लगानीमाथि प्रहरीको छानबिन तीव्र
विराटनगर । मोरङ कारागारका कैदीबन्दीको सुविधासम्बन्धी हिनामिना प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीको सम्पत्ति, आर्थिक गतिविधि तथा सम्भावित आपराधिक सम्बन्धबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।
प्रहरीले गिरीको सम्पत्ति आर्जनको स्रोत, बैंक तथा वित्तीय कारोबार, विभिन्न क्षेत्रमा गरिएको लगानी र संगठित अपराधसँग सम्भावित सम्बन्धका विषयमा विस्तृत छानबिन गरिरहेको जनाएको छ।
मानव अपहरण तथा शरीर बन्धक कसुरमा आठ वर्ष कैद सजाय भुक्तान गरी २०७९ चैत ५ गते जेलमुक्त भएका ४८ वर्षीय गिरीले त्यसपछि स्थापना गरेको ‘गिरी फाउन्डेसन’मार्फत भएका आर्थिक कारोबार पनि अनुसन्धानको केन्द्रमा छन्। फाउन्डेसनसँग आबद्ध व्यक्ति तथा आफन्तका नाममा रहेका सम्पत्ति र लगानीको समेत प्रहरीले अध्ययन गरिरहेको छ।
अनुसन्धानका लागि प्रहरीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी नियामक निकाय, कम्पनी रजिस्ट्रारको कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालयबाट गिरीसँग सम्बन्धित विवरण माग गरेको छ। उद्योग–व्यवसाय, साझेदारी, सेयर लगानी तथा अन्य व्यावसायिक क्षेत्रमा उनको संलग्नता रहेको वा नरहेको विषय पनि अनुसन्धानमा समेटिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले गिरीको आर्थिक गतिविधि, सम्पत्तिको स्रोत र वित्तीय कारोबारसम्बन्धी आवश्यक विवरण संकलन भइरहेको जानकारी दिए।
प्रहरी स्रोतका अनुसार अवैध रूपमा आर्जन गरिएको भनिएको रकम बैंकिङ प्रणालीमार्फत वैध बनाउने प्रयास भएको थियो वा थिएन, विभिन्न बैंक खाता प्रयोग गरेर रकमको स्रोत लुकाइएको थियो वा थिएन, साथै घरजग्गा, सवारीसाधन, व्यवसाय वा सामाजिक संस्थामार्फत लगानी गरिएको थियो वा थिएन भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित छ।
प्रहरीले अनुसन्धान अझै जारी रहेकाले हालसम्म कुनै अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पारेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया