सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ मनोनित
काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि)को एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ एवं जनस्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई काउन्सिलमा समावेश गरेको हो। मनोनित सदस्यहरूमा आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र जनस्वास्थ्य विज्ञ प्रमिला राना रहेका छन्।
सिटिइभिटिको एकेडेमिक काउन्सिलले पाठ्यक्रम विकास, नयाँ शैक्षिक कार्यक्रम स्वीकृति, गुणस्तर सुनिश्चितता, मूल्यांकन प्रणाली सुधार तथा प्राविधिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।डिजिटल रूपान्तरण, सूचना प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय डा. अमृता शर्माले सूचना तथा सञ्चार प्रविधिमा रोजगारीयोग्यतासम्बन्धी विषयमा विद्यावारिधि गरेकी छन्। उनले डिजिटल अर्थतन्त्र, सेवा निर्यात र दक्ष जनशक्ति विकासका विषयमा विभिन्न अध्ययन तथा अनुसन्धानमा नेतृत्व गर्दै आएकी छन्।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार र औद्योगिक क्षेत्रका अनुभवी उद्यमी हुन्। तीन दशकभन्दा बढी समयदेखि निजी क्षेत्रको नेतृत्व गर्दै आएका पाण्डेको अनुभवले प्राविधिक शिक्षालाई उद्योग र श्रम बजारको आवश्यकतासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक शिक्षाको प्रवर्द्धन, शिक्षक क्षमता विकास तथा नवप्रवर्तनमुखी सिकाइका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।यसैगरी, प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर र नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्। हाल नेपाल रेडक्रस सोसाइटीमा कार्यरत उनले जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास कार्यक्रमका क्षेत्रमा लामो अनुभव हासिल गरेकी छन्।
मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा र जनस्वास्थ्यका विज्ञहरूको सहभागिताले सिटिइभिटिको प्राज्ञिक क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको माग, नवप्रवर्तन र अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्दै रोजगारमुखी शिक्षा प्रणाली विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया