नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ११ करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ४३ हजार १३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको ८९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से बढ्नका लागि बैंकिङ्ग उपसमूहले टेवा दिएको हो। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २।०४ प्रतिशत बढेको छ। जसका कारण नेप्से परिसूचक बढ्न पुगेको हो। यस दिन वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५र८६ को साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया