Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

शिक्षामन्त्री पोखरेलको १०० दिन


काठमाडौं। शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्। मन्त्रालयले १०० दिनमा विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा, प्रशासनिक सुधार तथा खेलकुद क्षेत्रसँग सम्बन्धित ४२ वटा प्रमुख उपलब्धि हासिल भएको जनाएको छ।

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र तथा विश्वविद्यालयका नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको छ। वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रणालीलाई थप प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग एपीआई लिंक स्थापना गरिएको तथा बिदाको दिनमा समेत एनओसी र शैक्षिक प्रमाणीकरण सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

विद्यालय शिक्षा सुधारतर्फ कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू गरिएको, जन्मदर्ता नभएका बालबालिकालाई स्थानीय तहको प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको तथा स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्य नहुने व्यवस्था गर्न प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

उच्च शिक्षातर्फ विभिन्न आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयन सुरु गरिएको, सहकार्यात्मक (Joint and Dual Degree) कार्यक्रम सम्बन्धी नियमावली स्वीकृत गरिएको तथा विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया प्रतिस्पर्धात्मक आधारमा अघि बढाइएको उल्लेख गरिएको छ। साथै त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएर नफर्किएका करिब ४०० प्राध्यापकबाट उठ्न बाँकी राजस्वमध्ये करिब ५० करोड रुपैयाँ फिर्ता भइसकेको मन्त्रालयले जनाएको छ।

प्रशासनिक सुधारअन्तर्गत सेवा प्रवाह पुनर्संरचना, डिजिटल सिग्नेचर प्रणाली, हेल्प डेस्क स्थापना, गुनासो व्यवस्थापन प्रणाली तथा ई–पेन्सन कार्डको आधार तयार गरिएको छ। मन्त्रालयले ४० हजार ४१३ जनालाई एनओसी, १२ हजार २१० जनाको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण तथा ५६ विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्थाको अनुगमन गरिएको जानकारी दिएको छ।

विद्यालयको भौतिक पूर्वाधार सुधारतर्फ भूकम्प प्रभावित क्षेत्रमा सयौँ कक्षाकोठा निर्माण तथा पुनर्निर्माणको काम अघि बढाइएको छ। विद्यालयको गुणस्तर मापन, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, करिअर गाइडेन्स निर्देशिका, राष्ट्रिय गुणस्तरीय शिक्षा ढाँचा र विदेशी शैक्षिक कार्यक्रम नियमनसम्बन्धी नियमावलीको मस्यौदा पनि तयार गरिएको मन्त्रालयले जनाएको छ।

खेलकुदतर्फ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, खेल विज्ञान तालिम, प्रशिक्षक प्रशिक्षण, खेलाडी उपचार सहजीकरण तथा महिला राष्ट्रसंघ लिगसहित ४७ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको सहभागिता सुनिश्चित गरिएको उल्लेख छ। साथै नेपाल स्काउटमार्फत विपद् व्यवस्थापन तालिम र हजारौँ स्वयंसेवक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षदेखि विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) र उच्च शिक्षा क्षेत्रमा संरचनागत सुधारलाई प्राथमिकता दिँदै आवश्यक ऐन, नियमावली र दीर्घकालीन परियोजना कार्यान्वयनलाई तीव्रता दिने जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट