खामेनीको अन्तिम श्रद्धाञ्जली समारोहमा २ करोड मानिस सहभागी हुने अनुमान
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको निधन भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार पूर्वसूचना बिना आयोजित विशेष कार्यक्रममा उनको शव रहेको कफिनलाई ‘शहादतस्थल’मा पु¥याइएको हो।
इरान सरकारले जुलाई ४ र ५ मा तेहरानमा दुईदिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कार्यक्रममा ठूलो जनसहभागिता हुने अपेक्षा गरेको छ, जसले देशकै इतिहासमा सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एकको रूप लिन सक्ने जनाएको छ।इरानी पक्षका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी खामेनीको निधनप्रति समवेदना व्यक्त गरेका छन्। वार्ताका क्रममा क्षेत्रीय सुरक्षा अवस्था, होर्मुज जलडमरूमध्य, लेबनानको युद्धविराम तथा जारी कूटनीतिक पहलका विषयमा पनि छलफल भएको बताइएको छ।
यसैबीच, घानास्थित इरानी दूतावासले सन् २०१६ मा तत्कालीन घानाली राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटलाई स्मरण गर्दै श्रद्धाञ्जली सन्देश जारी गरेको छ। उक्त सन्देशमा खामेनीले अफ्रिकी मुलुकहरूलाई आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा विकास भएको हेर्न चाहेको उल्लेख गरिएको छ।भारत सरकारले पनि आफ्ना प्रतिनिधिमण्डललाई अन्त्येष्टि समारोहमा सहभागी गराउने निर्णय गरेको छ। भारतको विदेश मन्त्रालयका अनुसार बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा इरान पुग्ने कार्यक्रम रहेको छ।
नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा संवेदनशीलताका कारण सार्वजनिक रूपमा अन्त्येष्टि कार्यक्रममा सहभागी नहुने बताइएको छ। भारतका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि आयातोल्लाह हाकिम इलाहीले सम्भावित सुरक्षा जोखिम र निगरानीलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका छन्।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार जुलाई ४ बिहानदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सञ्चालन हुनेछ। त्यसपछि जुलाई ५ मा अन्तिम प्रार्थनापछि राजधानीका मुख्य मार्ग हुँदै शवयात्रा निकालिने तयारी गरिएको छ।
आईआरजीसीको तेहरान कमान्डले अत्यधिक भीडको सम्भावनालाई ध्यानमा राख्दै फराकिलो क्षेत्रमा शवयात्राको व्यवस्थापन गरिएको जनाएको छ। मेट्रो, बस, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकायलाई पूर्ण रूपमा परिचालन गरिएको छ भने सहभागीका लागि आवश्यक सुविधा उपलब्ध गराइने बताइएको छ।इरानी अधिकारीहरूले समारोहमा करोडौँ नागरिक सहभागी हुन सक्ने अनुमान गरेका छन्। प्रारम्भिक मूल्यांकनअनुसार सहभागिता एक करोडभन्दा माथि पुग्न सक्ने अपेक्षा गरिएको छ।
इरानी पक्षका अनुसार अयातोल्लाह अली खामेनीको यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएको थियो। त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको बताइएको छ। (एएनआई)
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया