Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सरकारको पहिलो १०० दिनको कार्यसम्पादन सकारात्मक रहेको दाबी गर्दै सुशासन स्थापना र जनअपेक्षा सम्बोधनमा उल्लेखनीय प्रगति भएको बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित डिजिटल प्लेटफर्म ‘पल्स आरएसपी’ तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकका सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै सरकार अझ प्रभावकारी र परिपक्व रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

सभापति लामिछानेले सरकारको प्रारम्भिक चरणमा सुशासन र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गरे। उनले विकास निर्माण तथा दीर्घकालीन महत्वका योजनाको प्रतिफल क्रमशः आगामी दिनमा देखिने बताए।

“सरकारले पहिलो चरणमा सुशासन सुदृढीकरण र जनजीवनसँग जोडिएका विषयमा ध्यान केन्द्रित गरेको छ। ठूला पूर्वाधार र दीर्घकालीन योजनाको प्रभाव समयक्रमसँगै देखापर्नेछ,” उनले भने।

उनले सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने दिशामा सरकारले महत्वपूर्ण सुरुआत गरेको दाबी गर्दै सर्वसाधारणले सरकारी सेवा प्राप्त गर्ने प्रक्रियामा सकारात्मक परिवर्तन अनुभव गर्न थालेको बताए।

सरकारको सुरुआती कार्यकाल जनहितमुखी र सकारात्मक रहेको उल्लेख गर्दै लामिछानेले आगामी दिनमा जनताको अपेक्षाअनुसार थप प्रभावकारी ढङ्गले काम गरिने प्रतिबद्धता व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट