माध्ययति फोन र म्यासेजबाट हैरानी, उषा अस्ट्रेलिया प्रस्थान, हैरानीका कारण देश छोड्नुपर्यो
अभिनेत्री उषा रजकले आफूलाई निरन्तर फोन र सामाजिक सञ्जालमार्फत हैरानी दिइएको दाबी गर्दै केही समयका लागि अष्ट्रेलिया जान बाध्य भएको बताएकी छन्। उनले फेसबुकमा सार्वजनिक गरेको स्टाटसमार्फत एक व्यक्तिले लामो समयदेखि मानसिक तनाव दिएको आरोप लगाएकी हुन्।
उषाका अनुसार केही दिनअघि उनले ती व्यक्तिविरुद्ध साइबर ब्यूरोमा जानकारी गराएकी थिइन्। पछि उजुरी दर्ताका लागि बोलाइए पनि उनले औपचारिक उजुरी भने दर्ता नगरेको उल्लेख गरेकी छन्। तर, हिजो राति पुनः मेसेन्जरमार्फत फोन र सन्देश आउन थालेपछि आफूले असुरक्षित महसुस गरेको उनको भनाइ छ।
परिवार र आफन्तको सल्लाहमा केही समयका लागि अष्ट्रेलिया गएको उल्लेख गर्दै उनले आफू डरका कारण नभई आफ्नो सुरक्षा र मानसिक शान्तिका लागि विदेशिएको बताएकी छन्। यही परिस्थितिका कारण दुई महिनादेखि तयारी गरिरहेको एक अन्तर्राष्ट्रिय समिटमा वक्ताका रूपमा सहभागी हुन नपाएको र आगामी चलचित्रको छायांकनसमेत स्थगित गर्नुपरेको भन्दै उनले आयोजक तथा निर्माण टोलीसँग क्षमायाचना गरेकी छन्।
उषाले फेसबुक स्टाटसमार्फत संजोक कार्की नामका व्यक्तिमाथि आफूलाई पटक–पटक फोन र सन्देशमार्फत हैरानी दिएको आरोप लगाएकी छन्। साथै, ती व्यक्तिको राजनीतिक पहुँच रहेको दाबी गर्दै वर्तमान गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (पीए) जेम्स कार्कीसँग निकट सम्बन्ध रहेको आरोप पनि लगाएकी छन्।
गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूलाई हैरानीबाट जोगाइदिन आग्रह गरेकी छन्। साथै, आफूले आवाज उठाएपछि अन्य महिलाहरूले पनि सोही व्यक्तिबाट हैरानी भोगेको भन्दै प्रमाणस्वरूप स्क्रिनसट पठाएको दाबी गरेकी छन्। ती महिलाहरूको अनुमति लिएर नेपाल फर्किएपछि सबै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दिने उनले उल्लेख गरेकी छन्।
‘ब्लक गर्नु मात्र समाधान होइन, यस्ता व्यक्तिले अर्को अकाउन्ट बनाएर फेरि दुःख दिन सक्छन्। मलाई अहिले न्याय चाहिएको छ,’ उनले लेखेकी छन्।
यद्यपि, समाचार तयार पार्दासम्म उषा रजकले लगाएका आरोपबारे संजोक कार्की, जेम्स कार्की वा सम्बन्धित सरकारी निकायको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया