सगरमाथा आरोहणमा नयाँ मापदण्ड आउँदै, ७ हजार मिटरको हिमाल नचढी अनुमति नदिने तयारी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको बताएका छन्। प्रस्तावित व्यवस्थाअनुसार अब सात हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा चढ्ने अनुमति नदिने प्रावधान समावेश गरिने भएको छ।
सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए।उनका अनुसार सगरमाथामा बढ्दो भीड व्यवस्थापन, आरोहीको सुरक्षा तथा विश्वकै सर्वोच्च शिखरको दीर्घकालीन संरक्षणलाई ध्यानमा राख्दै नयाँ मापदण्ड लागू गर्न लागिएको हो।
“सगरमाथामा अत्यधिक चाप बढेको छ। भीड नियन्त्रण गर्न नसके यसको अस्तित्वमै चुनौती आउन सक्छ भन्नेमा म पनि सहमत छु,” मन्त्री पौडेलले भने, “त्यसैले पर्यटनसम्बन्धी नयाँ कानुनमा सात हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नदिने व्यवस्था गर्न लागिएको छ।”उनले उक्त प्रावधान लागू भएपछि पर्याप्त अनुभव भएका आरोहीले मात्रै सगरमाथा आरोहणको अनुमति पाउने विश्वास व्यक्त गरे। यसले दुर्घटनाको जोखिम न्यूनीकरण हुनुका साथै सगरमाथामा हुने अत्यधिक भीडसमेत नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
मन्त्री पौडेलले सगरमाथा आरोहण रोयल्टी वृद्धि सम्बन्धी विषय अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भए पनि गैरकर राजस्व र संरक्षणका विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक निर्णय लिइने बताए।उनले नेपालमा पर्वतीय पर्यटनसँगै सांस्कृतिक, धार्मिक, साहसिक, प्राकृतिक तथा अन्य पर्यटनका क्षेत्रलाई पनि समान प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए। एकै प्रकारको पर्यटनमा निर्भर रहनुभन्दा पर्यटन क्षेत्रको विविधीकरणमा सरकारले जोड दिएको उनको भनाइ थियो।
यस्तै, मन्त्री पौडेलले नेपाल वायुसेवा निगमका ट्वीनटर (Twin Otter) विमानहरूको संरक्षण, सञ्चालन र विस्तारका लागि आवश्यक निर्देशन दिइने जानकारी दिए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) को प्रभावकारी सञ्चालनका लागि अन्तर्राष्ट्रिय हवाई रुट विस्तार गर्न कूटनीतिक पहल जारी रहेको पनि उनले बताए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया